रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप आईतबारबाट सुरु भएको छ । गोल्डकपको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामाले उद्धघाटन गर्नु भएको हो । आईतबार भएको पहिलो खेल तेल्लोक स्पोर्टिङ क्लब (आयोजक) र धनकुटाको साँगुरीगढी फुटबल क्लब बिच भएको छ । उक्त खेलमा आयोजकले धनकुटालाई २– १ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । खेलको म्यान अफ द म्याच घोषित हुँदै आयोजक टिमका टिम क्याप्टेन अनुप सेन्दाङले २१ रुपैँया प्राप्त गुर्न भयो । सोमबार (भोली) न्युस्टार क्लब झापा र उदयपुरको बद्ररहुड फुटबल क्लव बिच दिउँसोको २ बजे सुरु हुने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक तेल्लोक स्पोर्टिङ क्लब सहित भारत सिलिगुढीको पारिजात संघ फुटबल क्लव, पाँचथरको वाइवाई पाँचथर फुटबल क्लव, धनकुटाको साँगुरीगढी फुटबल क्लब, मोरङको सिरिजङ्गा स्पोर्टिङ क्लव, झापाको न्यू स्टार फुटबल क्लबले सहभागिता जनाउनेछन् । त्यस्तै सुनसरीको मरिक फुटबल क्लव र उदयपुरको बद्ररहुड फुटबल क्लवले पनि गोल्डकपमा भाग लिनेछन् ।
गोल्डकपको बिजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका तथा उपबिजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै गोल्डकपमा बिधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच’ प्रदान गरिने छ । यस्तै सर्बोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४–४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ ।
किराँत लिम्बु लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसरमा अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप सहित सिरिजङ्गा मेला गरिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो ।
२०७८ सालबाट आमन्त्रण सिरिजङ्गा गोल्डकप हुँदै आएको गोल्डकप चौथो संस्करणमा यसपटकको प्रतियोगिताबाट अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु भएको हो ।
सहभागी टिममध्ये सबैभन्दा अनुशासित र मर्यादित खेल खेल्ने एकटिम तथा उत्कृष्ट व्यवस्थापक र उत्कृष्ट प्रशिक्षकलाई समेत समापनको दिन सम्मान गरिने आयोजकले जनाएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीका साथै स्थानीय उत्पादनको प्रवद्र्धनात्मक कार्यक्रम, विभिन्न भाषा तथा संस्कृतिमा आधारित मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । कार्यक्रमको अनुमानित लागत ३० लाख रुपैँया रहेको क्लबका अध्यक्ष भट्टराईले बताउनुभयो । सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ ।
प्रतिक्रिया