ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा आजबाट चारदिने निःशुल्क आँखा शिविर सुरु हुँदै छ ।
आगामी मङ्सिर ८ गतेसम्म फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन हुने छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा डा. रुइत स्वयं उपस्थित हुनुहुनेछ । उहाँ शुक्रबार नै ताप्लेजुङ आइपुग्नुभएको छ । शिविरका क्रममा आँखाका बिरामीको परीक्षण गरी मोतिबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङका वरिष्ठ नेत्र अधिकृत तथा क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार आँखासम्बन्धी समस्या भएका सर्वसाधारणलाई शिविरमा सहभागी भई सेवा लिन आयोजकले अनुरोध गरेको छ । शिविरमा नाम दर्ताका लागि ६० रुपियाँ शुल्क लाग्ने भए पनि औषधि निःशुल्क उपलब्ध गराइने सूचनामा उल्लेख छ । त्यस्तै, ४० वर्षभन्दा माथिका बिरामीलाई पढ्नका लागि आवश्यक पर्ने चस्मासमेत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यसअघि पनि विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा. रुइतको उपस्थितिमा निःशुल्क आँखा शिविर सम्पन्न भएको थियो । शिविर सञ्चालनका लागि रुइत फाउन्डेसन, काठमाडौँ, फुङलिङ नगरपालिका र लायन्स क्लब अफ काठमाडौँ (लप्सीफेदी) ले सहयोग गरेका छन् ।
आँखाको समस्या भएर पनि उपचारको पहुँचमा पुग्न नसकेका बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट जिल्लाका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया