ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित फङफङदेन झरनामा जारी अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा तेह्रथुमको फेदाप गाउँपालिका फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक फङफङदेन झरना पर्यटन विकास समितिलाई १–० गोलले पराजित गर्दै फेदापले फाइनल यात्रा तय गरेको हो । फेदापका निशान राईले गरेको गोल नै निर्णायक बनेको थियो । खेलमा राई नै प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।
यसैगरी, शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा धरानको मरिक एफसीले मेरिङ्देन–६, नाल्बुको ग्रीन भ्याली क्लबलाई ८–३ गोलले पराजित गरेको छ । जितसँगै मरिक एफसीले सेमिफाइनलमा पाँचथरको कुम्मायक कुस्सायक स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ । उक्त खेलमा मरिकका कृष राई प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।
दुवै खेलका प्लेयर अफ दी म्याचले जनही तीन हजार रुपियाँ बराबरको अलैँची पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद तीन लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
फङफङदेन झरना पर्यटन विकास समितिको आयोजनामा मङ्सिर २ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ । अलैँचीलाई खेलकुद र पर्यटनसँग जोड्दै यसको बजार तथा पहिचान विस्तार गर्ने र फङफङदेन झरनालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ । मेलाले स्थानीय कृषि उत्पादन, पर्यटन तथा आर्थिक गतिविधिको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया