ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा दोभान बजारदेखि गाउँपालिकाको केन्द्र सन्थाक्रासम्मको सडक कालोपत्रे गर्ने काम सुरु हुने भएपछि सडकखण्डमा सवारी आवागमन बन्द हुने भएको छ ।
गाउँपालिकाले पहिलो खण्डको सडक कालोपत्रे गर्ने काम शनिबारदेखि सुरु गर्ने भएपछि साविकको साङ्थाक्रादेखि पहिलो टर्निङसम्म साना तथा ठूला सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको हो ।
गाउँपालिकाका अनुसार दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्म सडक कालोपत्रे गर्ने योजनाअन्तर्गत पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे गरिने छ ।
निर्माण कार्यलाई गुणस्तरीय, सुरक्षित तथा तीव्र गतिमा सम्पन्न गर्न सडक बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर) ले बताउनुभयो ।
सडक बन्द हुँदा यात्रु तथा सवारीधनीलाई पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमायाचना गरेको छ । साथै साना चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनलाई मयुरडाँडा–सावाक्रादेखि वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।
निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सहयोग पुर्याउन गाउँपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।






प्रतिक्रिया