ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी कात्तिक १६ गतेदेखि खेलकुद महोत्सव हुने भएको छ । खेबाङ स्पोर्टिङ क्लबको आयोजनामा कात्तिक १६ देखि २१ गतेसम्म छ दिने खेलकुद महोत्सव सञ्चालन हुने भएको हो ।
क्लबले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष बिनम मावोका अनुसार विगतका वर्षमा खेबाङ गोल्डकप सञ्चालन हुँदै आएकोमा यस वर्षदेखि विभिन्न खेलकुद विधा समेटेर महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा खुला पुरुष फुटबल, वडास्तरीय पुरुष तथा महिला भलिबल, हाफ म्याराथनलगायत प्रतियोगिता सञ्चालन हुनेछन् । साथै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने क्लबले जनाएको छ । ‘सिरिजङ्गाको गौरव कञ्चनजङ्घा, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित महोत्सव सञ्चालन गर्ने तयारी गरिएको छ ।
खुला पुरुष फुटबल प्रतियोगिताका विजेताले एक लाख ५५ हजार ५८३ र उपविजेताले एक लाख पाँच हजार ५८३ रुपियाँ पुरस्कार पाउनेछन् । दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ । वडास्तरीय पुरुष भलिबलका विजेताले ६० हजार र उपविजेताले ४० हजार तथा महिला भलिबलका विजेताले ३० हजार र उपविजेताले २० हजार रुपियाँ पाउने आयोजकले जनाएको छ ।
हाफ म्याराथनमा प्रथमदेखि दशौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रथमले ३३ हजार ३८३, द्वितीयले २२ हजार ३८३ र तृतीयले १३ हजार ३८३ रुपियाँ पाउनेछन् ।
खेबाङलाई पर्यटनसँग जोड्दै स्थानीय क्षेत्रको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष मावोले बताउनुभयो । महोत्सव सम्पन्न गर्न करिब २५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । स्थानीय तह, जलविद्युत् आयोजना तथा देश–विदेशमा रहेका खेलकुदप्रेमीबाट प्राप्त सहयोगका आधारमा महोत्सव सञ्चालन गर्ने तयारी गरिएको क्लबले जनाएको छ ।






प्रतिक्रिया