ताप्लेजुङ मङ्सिर ३ गते । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाले ताप्लेजुङमा पर्यटन विकास र प्रवर्द्धनका लागि वृहत्तर गुरुयोजना आवश्यक रहेको बताउनुभएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको ताप्लेजुङका पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि साझा प्रयास र सहकार्य जरुरी रहेको उहाँले बताउनुभयो ।
मिक्वाखोला गाउँपालिका–४ साँवास्थित तेम्बामा बुधबारदेखि सुरु भएको फफङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला २०८३ को उद्घाटन गर्नुहुँदै मन्त्री लङ्वाले पर्यटन क्षेत्रको योजनाबद्ध विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले ताप्लेजुङको पर्यटन प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकासका लागि कोशी प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताउँदै यसका लागि आगामी दिनमा पनि निरन्तर प्रयास गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङगामले फफङदेन क्षेत्र ताप्लेजुङ र मिक्वाखोलाको मात्रै नभई समग्र देशकै समृद्धिको सम्पत्तिका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । उहाँले मिक्वाखोला र समग्र ताप्लेजुङको उद्योग, कृषि तथा सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफूले मन्त्रालयको जिम्मेवारीमा रहँदा बजेट व्यवस्थापनमा विशेष भूमिका निर्वाह गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु लामा शेर्पा, मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ, वडा नं. ५ का अध्यक्ष ग्याञ्जे शेर्पा र नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
फफङदेन झरना पर्यटन विकास समितिका सल्लाहकार नुपु शेर्पाले अतिथिहरूलाई स्वागत गर्दै मेलाको औचित्य र उद्देश्यबारे जानकारी दिनुभएको थियो ।
बुधबारबाट सुरु भएको मेला मङ्सिर ६ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष विजय साँवाले जानकारी दिनुभयो । मेलामार्फत फफङदेन झरनाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला, संस्कृति र पहिचानको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ ।






प्रतिक्रिया