ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक व्यक्तिको अरिङ्गाल झार्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–१ निवासी ५० वर्षीय छत्रबहादुर सुनुवार रहनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कमल बजगाईंका अनुसार फुङलिङ नगरपालिका–६ थुवाजुङस्थित सुवास मादेनको बारीमा रहेको अरिङ्गालको गोलो झार्ने क्रममा सुनुवार लड्नुभएको थियो । लडेर गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनाबारे फुङलिङ नगरपालिका–१ का वडाध्यक्ष रुद्रकुमार मादेनले प्रहरीलाई जानकारी गराउनुभएको डीएसपी बजगाईंले बताउनुभयो । जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
घटना अरिङ्गाल झार्ने क्रममा भएको प्रारम्भिक जानकारी आए पनि घटनाको थप विवरण र मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया