ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ ‘क’ को सभापतिमा गणेश खिम्दिङ विजयी हुनुभएको छ । प्रतिस्पर्धी लालकृष्ण चौहानलाई १३८ मतान्तरले पराजित गर्दै खिम्दिङ सभापतिमा निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा खिम्दिङले ३८१ मत प्राप्त गर्नुभएको छ भने चौहानले २४३ मत पाउनुभएको छ । कुल ६९३ मत खसेकोमा ६६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ ‘क’ मा कुल ७७५ मतदाता रहेकामा ६९३ मत खसेको हो । निर्वाचन समितिले सभापतिको परिणामको औपचारिक घोषणा केहीबेरपछि गर्ने जनाएको छ ।
निर्वाचन समितिका सदस्य धनबहादुर थापाका अनुसार महाधिवेशन प्रतिनिधि चयनका लागि भने एक हजार २७३ मत खसेको छ । उक्त निर्वाचनका लागि एक हजार ४२९ जना मतदाता रहेका थिए । महाधिवेशन प्रतिनिधितर्फ २६ जना निर्वाचनमार्फत चयन हुनेछन् । कुल ३३ जना उम्मेदवारमध्ये सात जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रदेशसभा १ ‘क’ को सभापति चयनको मतगणना सकिएसँगै अब महाधिवेशन प्रतिनिधितर्फको मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । प्रदेशसभा १ ‘ख’ को क्षेत्रीय सभापतिमा भने उदय कुमार आङ्बुहाङ निर्विरोध चयन भइसक्नुभएको छ ।






प्रतिक्रिया