ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई फुङ्लिङ नगरपालिकाले टेबल टेनिस बोर्ड हस्तान्तरण गरेको छ । बुधबार फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भिमादेवी ओझाले जिल्ला खेलकुद विकास समितिको कार्यालयमै पुगेर एक थान टेबल टेनिस बोर्ड हस्तान्तरण गर्नुभएको हो ।
आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि अभ्यास गर्न बोर्ड उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । जिल्लाबाट टेबल टेनिसतर्फ छनोट हुने खेलाडीलाई नियमित अभ्यास गराई प्रतियोगिताका लागि सक्षम बनाउने उद्देश्यले बोर्ड उपलब्ध गराइएको हो ।
खेलाडीको अभ्यासका लागि बोर्ड आवश्यक रहेको भन्दै समितिले नगरपालिकासँग माग गरेपछि एक लाख ५० हजार रुपियाँमा बोर्ड खरिद गरी हस्तान्तरण गरिएको उपप्रमुख ओझाले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितिका अनुसार कार्यालय समयमा इच्छुक खेलाडीले उक्त बोर्डमार्फत निःशुल्क अभ्यास गर्न पाउनेछन् । अभ्यासका लागि प्रशिक्षकको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।
समितिका अध्यक्ष चन्द्र थेवेका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट विभिन्न ३२ विधाका खेलमा खेलाडी छनोट गरिनेछ । इच्छुक खेलाडीलाई आगामी असोज १९ गतेसम्म नाम दर्ता गराउन आह्वान गरिएको उहाँले बताउनुभयो । खेलाडीले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म समितिको कार्यालयमा उपस्थित भएर फाराम भर्न सक्नेछन् । फाराम भर्न नागरिकता वा जन्मदर्ताको प्रतिलिपि र पासपोर्ट साइजको दुई प्रति फोटो आवश्यक पर्नेछ ।
कार्यालय प्रमुख यज्ञनीनि पौडेलका अनुसार आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फुटबल, कराँते, जिम्न्यास्टिक, हक्की, तेक्वान्दो, जुडो, कबड्डी, खोखो, रग्बी, सुटिङ, स्क्वास, पौडी, टेबल टेनिस, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र सेपाकताक्रो लगायत ३२ विधामा खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
जिल्लाबाट प्रदेशका लागि छनोट भएका र प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने खेलाडीलाई राज्यले दैनिक भत्तासहित पोशाक, आवास तथा यातायातको व्यवस्था गर्ने पौडेलले जानकारी दिनुभयो ।






प्रतिक्रिया