चार महिनापछि ताप्लेजुङमा हवाइ उडान सुरु



ताप्लेजुङ, असोज १२ गते । करिब चार महिना पछि ताप्लेजुङमा सोमबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब चार महिनापछि सोमबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको हो ।

वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा ४ महिनासम्म उडान अवरुद्ध भएको थियो । उहाँका अनुसार यस अघिको सोमबार समेत उडान गर्ने सम्पूर्ण तयारी पुरा भएपनि अन्तिम समयमा आएर प्राविधिक समस्याका कारण उडान अवरुद्ध भएको थियो । जसका कारण प्रतीक्षालयमा घण्टौँ समयसम्म बसेका ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने ६ जना र काठमाडौँबाट ताप्लेजुङ आउने १२ जना यात्रु प्रभावित भएका थिए ।

अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल ताप्लेजुङमा निगमको ट्विनअटर जहाज मात्र सञ्चालन हुँदै आएकाले बर्षायामको समयमा उडान प्रभावित हुँदै आइरहेको छ । जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित हुँदै आएका थिए । लामो समयसम्म उडान नहुँदा जिल्लावासीले लामो दुरीको सडकमार्फत यात्रा गर्न बाध्य भएका थिए ।

चार महिनापछि सुरु भएको उडानका कारण भने जिल्लावासी हर्षित भएका छन् । नेपालीहरूको महान पर्व दशैँतिहार नजिकिएसँगै परिवारसँग पर्व मनाउन साथै आफन्त भेटघाटका लागि जिल्ला भित्रिने तयारीमा रहेका तथा अतिआवश्यक कार्यका लागि जिल्ला बाहिरिने नागरिक हर्षित भएका छन् । त्यस्तै ताप्लेजुङ घुम्न आउने सिजन समेत सुरु भएकै समयमा हवाई उडान सञ्चालन हुँदा यातायात व्यवसायी तथा होटल व्यवसायी समेत हर्षित देखिएका छन् ।

सोमबार ताप्लेजुङबाट काठमाडौँ पाँच जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट १३ जना यात्रु ताप्लेजुङ आएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

जिल्लामा पटकपटक उडान तालिका भएपनि हवाई सञ्चालन नहुँदा यात्रुहरू अन्योलमा पर्ने भएकाले सुरुवाती चरणमा थोरैले मात्र टिकट लिएको उहाँको भनाइ थियो । मौसममा सुधार भएकाले नियमित उडान सुरु भएपछि यात्रुको चाप हुने उहाँको विश्वास छ ।

ताप्लेजुङ स्टेसनका अनुसार हाल उडान तालिका समेत केही परिवर्तन भएका छन् । यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अबदेखि सोमबार, बिहीबार र शनिबारका लागि सारिएको छ ।

ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल १२ हजार ७० रुपियाँ र काठमाडौँबाट ताप्लेजुङ आउनेका लागि १२ हजार २७० रुपियाँ भाडादर निर्धारण गरिएको निगमले जनाएको छ । हवाई इन्धनको बढेकाले यसअघि नौ हजार २४५ रुपियाँ रहेको भाडादर समेत वृद्धि गरेर १२ हजार पु¥याएको बताइएको छ ।

प्रकाशित मिति : 5:52 pm

चार महिनापछि ताप्लेजुङमा हवाइ उडान सुरु

ताप्लेजुङ, असोज १२ गते । करिब चार महिना पछि ताप्लेजुङमा

भोटेकोशी बाढीपीडितका लागि एक लाख ११ हजार सहयोग

ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले भोटेकोशीमा

श्रम संस्कृति पार्टी ताप्लेजुङले ६ ओटा घर निर्माण गरि हस्तान्तरण

ताप्लेजुङ, आसोज १२ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले ६

दोभान अग्निपीडितलाई नेकपाको राहत

ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभानका अग्निपीडित