ताप्लेजुङ, आसोज १२ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले ६ ओटा घर निर्माण गरि हस्तान्तरण गरेका छन् । पार्टीले जिल्ला भित्रका विभिन्न परिवारलाई श्रमदान मार्फत घर निर्माण गरि हस्तान्तरण गरेका हुन् । श्रम संस्कृति पार्टी ताप्लेजुङका अध्यक्ष निमा शेर्पाका अनुसार शनिबार फुङलिङ नगरपालिका ६ की फुलमाया शेर्पालाई घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।
आर्थिक रुपमा विपन्न भएका र आवश्यकताका आधारमा पार्टीले श्रमदान मार्फत घर निर्माण गरि हस्तान्तरण गर्दै आइरहेको अध्यक्षले शेर्पाले बताउनुभयो । उहाँका अनुसार घर निर्माणका लागि सम्बन्धित परिवारले केही मात्रा सामाग्री उपलब्ध गराएको र बाँकी आवश्यक जस्ताका पाता, काँटी, काठ लगायतका अन्य सामाग्री तथा औजारको आफैँले व्यवस्थापन गरि घर निर्माण गरिएको छ ।
ताप्लेजुङमा साप्ताहिक रुपमा पार्टीले जिल्ला, पालिका तथा टोल स्तरमा श्रमदानबाटै हरेक शनिबार सरसफाइको कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । यस बाहेक घर जीर्ण अवस्थामा रहेका, पुननिर्माणका लागि आर्थिक तथा शारीरिक रुपले अशक्त भएका परिवारलाई नयाँ घर निर्माण गरि हस्तान्तरण गर्दै आइरहेको पार्टीले जनाएको छ । अध्यक्ष शेर्पाका अनुसार अहिलेसम्म फुङलिङ शेर्पाको सहित सिदिङवा गाउँपालिकाको मेहेलमा सञ्जुहाङ माबो, सुरुम्खिमा मान बहादुर गुरुङलाई नयाँ घर श्रमदानबाटै निर्माण गरि हस्तान्तरण गरिएको छ ।
त्यस्तै सिरिजंघा गाउँपालिकाको याम्फुदिनमा चन्द्रकुमारी राईलाई, फक्ताङलुङ गाउँपालिकाको लिङिखममा आइतराज लिम्बूलाई र मेरिङदेन गाउँपालिकाको खाम्लुङमा मंगलिमाया सामेखामलाई घर निर्माण गरि हस्तान्तरण गरिएको पार्टीले जनाएको छ । यस्तै फक्ताङलुङको इखाबुमा सार्वजनिक स्थानमा नागरिकलाई खानेपानीको व्यवस्थापनका लागि सार्वजनिक धारा समेत निर्माण गरि समुदायलाई हस्तान्तरण गरि सञ्चालनमा ल्याइएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
पार्टीका अनुसार श्रमदानबाटै वर्षायाममा आवतजावतलाई सहज बनाउन जिल्लाका विभिन्न ४ ओटा स्थानमा स्थायी काठेपुल समेत निर्माण गरिएको छ । बाढीपहिरोले पुल बगाएर आवतजातमा समस्या भएका स्थानमा अस्थायी काठेपुल निर्माण गरिएको बताइएको छ ।






प्रतिक्रिया