ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित जलविद्युत् आयोजनासँग विभिन्न महत्वपूर्ण कागजात तथा विवरण माग गरेको छ । गाउँपालिकाले सम्बन्धित आयोजनाका कार्यालयमा पत्र पठाउँदै सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार जल, जमिन तथा प्राकृतिक स्रोत स्थानीय नागरिकको साझा सम्पत्ति भएकाले आयोजनाका गतिविधि पारदर्शी र कानुनसम्मत हुनुपर्ने भएकाले विवरण माग गरिएको हो । गाउँपालिकाले आयोजनाले सरकारी, निजी तथा ऐलानी जग्गा प्रयोग गरेको भए त्यसको पूर्ण विवरण, गाउँपालिकाको मापदण्डअनुसार निर्माण भएका भवन तथा संरचनाको विवरण र गाउँपालिकालाई वार्षिक रूपमा बुझाएको रोयल्टीको प्रमाण माग गरेको छ ।
त्यसैगरी ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन र प्रयोगसम्बन्धी अनुमति, सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत भएका सम्झौता, खर्च तथा भुक्तानीको विवरणसमेत उपलब्ध गराउन भनिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा वातावरणीय व्यवस्थापनसम्बन्धी प्रतिवेदन पनि माग गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष लिम्बूले विवरण माग गर्ने कार्य कुनै व्यक्ति वा संस्थाप्रति पूर्वाग्रह नभएको बताउनुभएको छ । उहाँले जलविद्युत् विकासको पक्षमा गाउँपालिका रहे पनि स्थानीय स्रोत प्रयोग गर्ने आयोजनाले आम्दानी, खर्च, सम्झौता र स्थानीय लाभका विषय पारदर्शी बनाउनुपर्ने बताउनुभयो । “हामी जलविद्युत् विकासका पक्षमा छौँ, तर जनताको स्रोत प्रयोग गरेर जनताबाटै हिसाब लुकाउने प्रवृत्तिका पक्षमा छैनौँ,” अध्यक्ष लिम्बूले भन्नुभयो ।
गाउँपालिकाले सुशासन, पारदर्शिता, कानुनी उत्तरदायित्व र स्थानीय अधिकार सुनिश्चित गर्ने उद्देश्यले विवरण माग गरेको अध्यक्ष लिम्बूको भनाई छ ।






प्रतिक्रिया