ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी एक महिला बेपत्ता भएको छ दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ ।
निगुरादिनकी ३३ वर्षीया निर्मला पोमू गत भदौ २१ गते बिहानदेखि बेपत्ता हुनुभएको थियो । उहाँलाई शनिबार दिउँसो खोजी गर्ने क्रममा गजलडाँडा भीरमा मृत अवस्थामा फेला पारिएको स्थानीय रोशन शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाका अनुसार शनिबार दिउँसो करिब साढे १ बजे खोजी गर्ने क्रममा बाटोदेखि करिब तीन सय मिटर तल महिलाको शव फेला परेको हो । स्थानीयका अनुसार शव सडेको अवस्थामा भेटिएको छ ।
स्थानीयले बाटोबाट लडेर उहाँको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् । घटनास्थलमा निगुरादिनको अस्थायी प्रहरी चौकीबाट प्रहरी खटिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान तथा शवको कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल बजगाईँले जानकारी दिनुभयो ।






प्रतिक्रिया