ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी अमिर राईलाई गाउँपालिकाको पर्यटन दूत घोषणा गरेको छ । सिदिङवा गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गाउँपालिकाले राईलाई नगद ५५ हजार ५५५ रुपियाँसहित सम्मान गर्दै पर्यटन दूत घोषणा गरेको हो ।
तिम्बुङ पोखरी क्षेत्रमा आयोजित तिम्बुङ अन्तराष्ट्रिय ट्रेल रनका अवसरमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर राई र प्रमुख प्रशासकीय अधिकृत प्रमेश शिवाले संयुक्त रूपमा राईलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । सिदिङवा गाउँपालिकाका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न राईले पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
विशेषगरी तिम्बुङ पोखरीलगायतका पर्यटकीय गन्तव्यको प्रचारप्रसार, पर्यटन पूर्वाधार विकास तथा पर्यटक आकर्षणमा निजी क्षेत्रको सहभागिता बढाउन राईको भूमिका महत्वपूर्ण हुने गाउँपालिकाको अपेक्षा छ । पर्यटन दूत घोषणा भएपछि राईले सिदिङवा गाउँपालिकाका पर्यटकीय सम्भावनालाई देश तथा विदेशमा चिनाउन थप पहल गर्ने बताउनुभएको छ ।
तिम्बुङ क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ट्रेल रनले स्थानीय पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राई तिम्बुङ अन्तराष्ट्रिय ट्रेल रन २०८३ सञ्चालन गर्ने आयोजक समितिका संयोजकसमेत हुनुहुन्थ्यो । उहाँ पर्यटन व्यवसायसँगै तिम्बुङ पोखरीलगायतका क्षेत्रको पर्यटन प्रवर्धनमा सक्रिय रहँदै आउनुभएको छ ।






प्रतिक्रिया