ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव, एकता र विश्वशान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले साहित्यिक पदयात्रा सम्पन्न भएको छ । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको आयोजनामा शनिबार बिहान सदरमुकाम फुङ्लिङदेखि सुकेटारसम्म पदयात्रा सम्पन्न भएको हो ।
‘साहित्यका लागि पाइला, सद्भावका लागि यात्रा, विश्वशान्तिका लागि एकता’ भन्ने नारासहित आयोजना गरिएको पदयात्रामा साहित्यकार, लेखक, सर्जक तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले साहित्य र सिर्जनाका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।
फुङ्लिङ बजारबाट सुरु भएको पदयात्रा करिब आठ किलोमिटर दूरी पार गर्दै सुकेटारमा पुगेर सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभयो । पदयात्राका क्रममा सहभागीहरूले साहित्यले समाजलाई जोड्ने, आपसी सम्बन्ध सुदृढ गर्ने तथा शान्ति र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने सन्देश प्रवाह गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष हेल्लोकका अनुसार साहित्यिक गतिविधिलाई जिल्लाका विभिन्न क्षेत्रमा विस्तार गर्ने तथा साहित्यलाई सामाजिक एकता र सकारात्मक परिवर्तनको माध्यम बनाउने उद्देश्यले पदयात्रा आयोजना गरिएको हो । साहित्यकार तथा सर्जकलाई एउटै स्थानमा जोड्दै सिर्जनात्मक गतिविधि बढाउने प्रयासस्वरूप कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ ।
पदयात्रामा सहभागी साहित्यप्रेमीहरूले साहित्य केवल मनोरञ्जनको माध्यम नभई समाजलाई सही दिशा दिने र मानिसबीचको सम्बन्धलाई नजिक बनाउने प्रभावकारी माध्यम भएको बताएका थिए । उनीहरूले साहित्यिक गतिविधिमार्फत जिल्लामा शान्ति, सद्भाव र एकताको वातावरण निर्माण गर्न निरन्तर पहल आवश्यक रहेको बताएका छन् ।
प्रतिष्ठानले आगामी दिनमा पनि साहित्यसँगै सामाजिक जागरण र सद्भाव प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।






प्रतिक्रिया