ताप्लेजुङ, साउन २८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामग्री वितरण गरेको छ । लिमिटेडको ७ औँ स्थापना दिवसको अवसरमा बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाद्य तथा शैक्षिक सामग्री वितरण गरेको हो।
लिमिटेडको कार्यालय प्रमुख प्रकाश तिमल्सिनाका अनुसार विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई स्थापना दिवसको अवसरमा सामग्री प्रदान गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत लिमिटेडले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि टेवा दिने उद्देश्यले सामग्री प्रदान गरिएको कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो । कार्यालयका अनुसार छात्रावासमा रहेका विद्यार्थीका लागि २५ केजी चामल र अभ्यासपुस्तिका उपलब्ध गराइएको छ।
सामग्री फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझालगायतको उपस्थितिमा वितरण गरिएको छ। सामग्री प्रदानपछि उपप्रमुख ओझाले विद्यार्थीको शैक्षिक विकासका लागि उपलब्ध गराएको सहयोगप्रति धन्यवाद प्रकट गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ । यता, सहयोगी संस्था खाद्य व्यवस्थाप्रति विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौडेलले आभार प्रकट गर्नुभएको छ।
सुस्त श्रवणसम्बन्धी अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने बाल मन्दिर आधारभूत विद्यालयमा विभिन्न सङ्घ संस्थाले सामाजिक उत्तरदायित्वबाट र समाजसेवी नागरिकले जन्मदिन तथा स्मृति दिवसको अवसर सामग्रीहरू प्रदान गर्दै आइरहेका छन् । विद्यालयमा २४ जना सुस्त श्रवणसम्बन्धी बालबालिका र ६१ जना विद्यार्थी अध्ययनरत छन् ।






प्रतिक्रिया