ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ बौद्ध गुम्बा पुनर्निर्माणका लागि स्थानीय जुटेका छन् । शनिबार एकै दिन करिब दुई सय स्थानीयले गुम्बा पुनर्निर्माणका लागि श्रमदान गरेका हुन् ।
अढाई तले गुम्बाको बेस ढलान गर्ने दिन शनिवार करिव दुईसय जनाले श्रम गरेको निङमा छ्योखोरलिङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले आह्वान गरेपछि स्थानीहरू स्फूर्त रुपमा श्रमका लागि उपस्थित भएका हुन् ।
गुम्बाको पुनर्निर्माण, बुद्धको मूर्ति, छोर्तेन र मूल प्रवेशद्वारका लागि करिव ८ करोड ५० लाख रुपियाँ लाग्ने अनुमान छ । असार मसान्तसम्ममा करिव ८० लाख बढी रकम दाताहरूबाट सहयोग आइसकेको गुरुङले जानकारी दिनुभयो । यस्तै फुङलिङ नगरपालिका र वडा न. ६ को वडा कार्यालयले समेत बजेट विनियोजन गरेको उहाँको भनाई छ ।
चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकार र नगरपालिकाबाट समेत अनुदान रकम प्राप्त हुनेगरि बजेट र योजनामा समावेश भएको उहाँले जानकारी दिनुभयो । दाताहरूबाट प्राप्त भइरहेको सहयोग र प्रदेश तथा स्थानीय सरकारबाट प्राप्त सहयोग निरन्तर रहे गुम्बा पुनर्निर्माण कार्य योजना भन्दा अघि नै पूरा हुने गुरुङको भनाई छ ।
गुम्बाको भवन निर्माणका लागि मात्रै करिव ४ करोड १३ लाख रुपियाँको बजेट अनुमान गरिएको छ । गुम्बा बनिसकेपछि आवश्यक पर्ने गजुर, त्रिमूर्ति तथा ८ वटा छेर्तेनका लागि समेत दाताहरूले सहयोग गर्ने बचन दिइसकेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
झण्डै १२ देखि १५ फिट उचाइको बुद्धको प्रतिमा र मूल प्रवेशद्वार निर्माणका लागि दाताहरूसँग आग्रह गरिदै आएको समितिले जनाएको छ । श्रमदानमा र अन्य आर्थिक तथा भौतिक सहयोगका लागि सबै जातजाति, धर्म, संस्कार र संस्कृतिका मानिसहरको अग्रसरता देख्दा विविधता भित्रको एकताको सन्देश पनि गएको व्यवस्थापन समिति अध्यक्ष गुरुङ बताउँनुहुन्छ ।
गुम्बाबाट आधा ताप्लेजुङ अवलोकन गर्न सकिने र सदरमुकाम नजिकैको क्षेत्र भएकोले गुम्बा पुनर्निर्माणसँगै गुम्बा क्षेत्र एक आकर्षक पर्यटकीय स्थल हुने उहाँको भनाई छ । २०४७ सालमा बनेको गुम्बा जीर्ण भएसँगै गुम्बालाई आधुनिक कला र कौशलका आधारमा २०८२ साल मंसिर १२ गतेबाट पुनर्निर्माण गर्न थालिएको हो ।






प्रतिक्रिया