ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । वि.सं. २०७८ साल मंसिर १४ गते निवर्तमान नगरप्रमुख छत्रपति प्याकुरेलले शिलान्यास गर्नुभएको भवनको बुधबार उद्घाटन गरिएको हो ।
भवनको उद्घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भिमा देवी ओझा, प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु र वडा अध्यक्ष मदन कुमार गुरुङको संयुक्त बाहुलीबाट गरिएको हो । उक्त भवन निर्माणका लागि १ करोड ३६ लाख रुपियाँको अनुमान गरिएको थियो । तर, ८२ लाख ८३ हजार ६८० रुपियाँमा भवन निर्माण सम्पन्न भएको वडाअध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि यिगेन्द्र कुमार गुरुङ र खिनमाया गुरुङले ३ रोपनी, स्वर्गीय नरबहादुर गुरुङको परिवारका तर्फबाट याम गुरुङ र सरिता गुरुङले १ रोपनी ७ आना, स्वर्गीय आमा बछली माया गुरुङ तथा स्वर्गीय छोरा खड्गबहादुर र पद्मा गुरुङको नाममा उहाँहरूका छोराछोरीले मिलेर झण्डै २ रोपनी १४ आना र स्वर्गीय बलबहादुर, चन्द्रबहादुर, पूर्णबहादुर र बृख बहादुरको स्मृतिका उहाँहरूका छोरा छोरीको तर्फबाट ६ रोपनी जग्गा प्राप्त भएको वडा कार्यालयले जनाएको छ ।
भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गा दाताहरूलाई दोसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरिएको छ । भवनको निर्माण कार्य २०७९ फागुन २८ गते सम्पन्न गरिए पनि औपचारिक उद्घाटन आज मात्र गरिएको हो ।
यस्तै वडा कार्यालय उद्घाटनकै अवसरमा वडा कार्यालयमा कर्मचारीमध्ये उत्कृष्ट काम गर्ने सव इन्जिनियर मनोज पौडेल तथा कार्यालय कर्मचारी मनिषा राई जनही नगद ३ हजार रुपियाँ सहित पुरस्कृत समेत गरिएको छ ।






प्रतिक्रिया