ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान जनप्रतिनिधिको कार्यकालमा सम्पन्न भएका आठ प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, प्रशासनिक सुधार तथा सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको हो ।
गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) का अनुसार पालिकाभित्र घरायसी प्रयोजनका लागि प्रयोग हुने विद्युत् महसुल निःशुल्क गरिएको, प्रशासनिक भवन तथा कभर्ड हल निर्माण, कक्षा १२ सम्म निःशुल्क शिक्षा, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा तथा सबै वडामा प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) सञ्चालन गरिएका छन् ।
त्यसैगरी ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा तथा दन्त सेवा उपलब्ध गराइएको, विद्यालयको लेखापरीक्षण गाउँपालिकाबाट निःशुल्क गरिने व्यवस्था गरिएको, प्रत्येक महिना विद्यालयका प्रधानाध्यापकसँग नियमित समन्वय बैठक सञ्चालन हुने तथा पालिकाभित्रका सरकारी कार्यालयमा निःशुल्क फाइबर इन्टरनेट जडान गरिएको अध्यक्ष पोमूले जानकारी दिनुभयो ।
पालिकाले विद्यालयमा आवश्यक शिक्षक पदपूर्तिको परीक्षा शुल्कसमेत बेहोर्दै आएको छ । विद्यालय र स्वास्थ्य संस्थाका प्रशासनिक खर्चमा पनि सहयोग गर्दै आएको गाउँपालिकाको भनाइ छ । कार्यालय समयभन्दा बाहिर काम गर्ने कर्मचारीलाई कार्यबोझका आधारमा प्रोत्साहन भत्ता दिने कार्यविधिसमेत लागू गरिएको छ। सङ्घीय सरकारले लागू गरेको आइतबार सार्वजनिक बिदा आठराई त्रिवेणीमा लागू नगरिएको र पालिका तथा मातहतका कार्यालय नियमित सञ्चालन हुँदै आएका छन् ।
उपाध्यक्ष शान्ताकुमारी आङवुहाङका अनुसार पालिका केन्द्र आसपासको पाँच सय मिटर सडक कालोपत्रे गरिएको छ । आगामी माघभित्र पालिकालाई फुसको छानोमुक्त घोषणा गर्ने लक्ष्यसहित आवश्यक बजेट व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
स्थानीय सञ्चार माध्यमको प्रवद्र्धनका लागि गाउँसभाबाट स्थानीय सञ्चार ऐन पारित गरिएको छ । वडा नं. २ का वडाध्यक्ष तथा पालिका प्रवक्ता टेकिन्द्र सेन्दाङका अनुसार राजपत्रमा प्रकाशनपछि उक्त ऐन कार्यान्वयनमा आउनेछ ।
यसैबीच, पालिकाको गौरव योजनाअन्तर्गत भुजे–गोर्जा–गुफा सडकको स्तरोन्नति र वडा नं. ३ तथा ४ जोड्ने याक्से–देवीथान–सोबुवाखोला मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र शिक्षकलाई सम्मान तथा कमजोर कार्यसम्पादन गर्ने कर्मचारीलाई कार्यविधिअनुसार दण्ड दिने व्यवस्था पनि गाउँपालिकाले कार्यान्वयनमा ल्याएको जनाएको छ ।






प्रतिक्रिया