ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको पर्यटकीय क्षेत्र मुधिङकोक्मा पार्क परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ। प्रत्येक शनिबार जिल्लाका विभिन्न सार्वजनिक तथा पर्यटकीय स्थलहरूमा सरसफाइ कार्यक्रम गर्दै आएको पार्टीले यसपटक मुधिङकोक्मा पार्क क्षेत्रलाई अभियानको केन्द्र बनाएको हो।
पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा सम्पन्न अभियानका क्रममा पार्क परिसरमा छरिएका फोहोर सङ्कलन गर्नुका साथै वातावरण संरक्षण र सरसफाइको महत्वबारे स्थानीयलाई सचेतना समेत प्रदान गरिएको थियो। पर्यटकीय स्थललाई स्वच्छ, सफा र आकर्षक बनाइ राख्न नियमित सरसफाइ आवश्यक रहेको सहभागीहरूले बताएका छन्।
श्रम संस्कृति पार्टीका निमा शेर्पाका अनुसार पार्टीले सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाका विभिन्न स्थानमा निरन्तर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। उहाँले हालसम्म जिल्लाका २५ वटा स्थानमा सरसफाइ कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिनुभयो। आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिँदै अन्य सार्वजनिक स्थल, धार्मिक क्षेत्र तथा पर्यटकीय गन्तव्यहरूमा सरसफाइ कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ।
स्थानीयवासीले पनि यस्ता अभियानले वातावरण संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। नियमित सरसफाइ अभियानले सार्वजनिक स्थलहरू सफा राख्न सहयोग पुग्नुका साथै समुदायमा स्वच्छ वातावरणप्रति जिम्मेवारीबोध बढाउने अपेक्षा गरिएको छ।






प्रतिक्रिया