ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ जिल्लाको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले आगामी कार्यकालका लागि राजन कुमार गुरुङको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।
निर्वाचित कार्यसमितिमा सभापतिमा राजन कुमार गुरुङ, उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लिला प्रसाद पौडेल तथा सहसचिवमा गोपाल गुरागाईं चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा कमल लेछ्रवो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्र कुमार थापा निर्वाचित हुुनुभएको छ ।
अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नवगठित कार्यसमितिले पार्टीको सङ्गठन विस्तार, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई जिल्लास्तरमा थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
रास्वपाको प्रथम जिल्ला अधिवेशनलाई ताप्लेजुङमा पार्टी सङ्गठन निर्माणको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड) ले उद्घाटन गर्नुभएको अधिवेशनमा नेपाली काङ्ग्रेसका जिल्ला सचिव गणेशबाबु निरौला, नेकपा (एमाले) का जिल्ला सचिव सन्तोष चाम्लिङ, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजक विष्णुकुमार लिम्बू लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिनुभएको छ ।
अधिवेशनमा रास्वपाका नेता मिङ्मादण्डु शेर्पा, मानवीय विकास प्रवर्द्धन केन्द्रीय विभाग सदस्य इन्दिरा मेन्याङ्बो लगायत विभिन्न केन्द्रीय विभागका सदस्यहरूको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया