ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन, प्रवर्द्धन र प्रायोजनका उद्देश्यले राखिएका होर्डिङ बोर्ड हटाउन थालिएको छ । विश्व धुम्रपानरहित दिवसको अवसरमा आइतबार सञ्चालन गरिएको अनुगमनका क्रममा यस्ता विज्ञापन सामग्री हटाइएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङको संयोजनमा सम्पन्न अनुगमन कार्यक्रममा मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रीवितरण गर्ने विभिन्न पसलहरूको निरीक्षण गरिएको थियो । अनुगमन टोलीले सार्वजनिक स्थानमा धुमपान तथा सुर्तिजन्य पदार्थ सेवन भएनभएको विषयमा समेत निगरानी गरेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार मदिरा तथा सुर्तिजन्य पदार्थ उत्पादक कम्पनीले प्रायोजन गरी राखिएका होर्डिङ बोर्डहरू प्रचलित कानुनी व्यवस्था अनुसार हटाइएको हो । यस्ता सामग्रीले सुर्तिजन्य पदार्थ तथा मदिराको अप्रत्यक्ष प्रचारप्रसार गर्ने भएकाले नियन्त्रणको अभियानलाई तीव्र बनाइएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक उदयनारायण दुलालले सुर्तिजन्य पदार्थ तथा मदिराको विज्ञापन, प्रवर्द्धन र प्रायोजन हुने गरी कुनै पनि कम्पनीद्वारा राखिएका होर्डिङ बोर्ड, फ्लेक्स तथा भित्ते लेखन राख्न नपाइने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो । अनुगमन टोलीले व्यवसायीलाई यस्ता सामग्री नराख्न तथा राखिएका भए तत्काल हटाउन आग्रह गरेको छ ।
यसैगरी, टोलीले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई तथा गर्भवती महिलालाई सुर्तिजन्य पदार्थ बिक्रीवितरण वा ओसारपसार गर्न नलगाउन व्यवसायीलाई सचेत गराएको छ । शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, वृद्धाश्रम र अनाथालय जस्ता सार्वजनिक स्थलको एक सय मिटरभित्र सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था बारे पनि जानकारी गराइएको छ ।
सुर्तिजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी निर्देशिका, २०७१ अनुसार सञ्चालन गरिएको अनुगमन तथा सचेतनामूलक कार्यक्रमले समुदायमा धुमपान तथा मदिराजन्य वस्तुको प्रयोग नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।






प्रतिक्रिया