ताप्लेजुङ, जेठ २ गते । पाथीभरा देवी (मुकुम्लुङ) केबलकार आयोजनाको विरोधमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिन केबुलकार निर्माण गर्नु पर्छ भन्ने पक्षले आग्रह गरेको छ । शनिबार फुङलिङमा पत्रकार सम्मेलनका आयोजना गरि केबलकार आयोजना धार्मिक पर्यटन, स्थानीय आर्थिक विकास र रोजगारी सिर्जनाका लागि महत्वपूर्ण रहेको बन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।
पाथीभरा देवी (मुकुम्लुङ) सबै धर्म, संस्कृति तथा सम्प्रदायको आस्थाको केन्द्र भएको उल्लेख गर्दै लाखौँ भक्तजनलाई सहज पहुँच पु¥याउन निजी क्षेत्रको लगानीमा केबलकार निर्माण भइरहेकोले यस्तो कार्यलाई अघि बढाउनु पर्ने फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले बताउँनुभयो । जिल्लाका भद्रभलाद्मी, बुद्धिजीवी, धार्मिक तथा सांस्कृतिक संस्था र उद्योगी व्यवसायीहरूको पहलमा एउटा ठूलो लगानी भित्रिएको उहाँको दाबी छ ।
यस्तै केबुलकार आयोजनाले धार्मिक पर्यटकको सुविधा बढाउनुका साथै जिल्लामा अन्य पर्यटकीय पूर्वाधार विकासमा समेत सहयोग पुग्ने भएकोकाले केबुलकार आवश्यक रहेको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष विकास गौतमको भनाई छ । उहाँले स्थानीय उत्पादनले बजार पाउने, रोजगारी सिर्जना हुने तथा कोशी प्रदेशसहित समग्र देशको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
केही समययता बाहिरी जिल्लाका व्यक्तिहरू समेत संलग्न भई केबलकार, जलविद्युत, प्रसारण लाइन लगायत विकास निर्माणका कार्यमा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको मेयर मादेनको आरोप छ । मुक्कुम्लुङ संरक्षण तथा केबलकार खारेजीको नाममा घोषणा गरिएका आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन होटल व्यावसायी सुरेश लिम्बूले आग्रह गर्नुभयो ।
साथै नेपाल सरकारलाई जिल्लामा शान्ति सुरक्षा कायम गरी विकास निर्माणका आयोजना समयमै सम्पन्न हुने वातावरण बनाउन केबुलकार निर्माण गर्न पर्छ भन्ने पक्षको आग्रह रहेको छ । पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिकाका मेयर मादेन, उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष गौतम, होटल व्यवसायीहरू र स्थानीय बुद्धिजीवीहरूको उपस्थित रहेको थियो ।
यस अघि बुधबार केबुलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विभिन्न चरणका सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ ।






प्रतिक्रिया