ताप्लेजुङ, वैशाख २८ गते । जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ। तेह्रथुमको वसन्तपुरमा तिनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकास निर्माणमा समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित दुईदिने विशेष कार्यक्रम सुरु भएको हो ।
“तिनजुरे मिल्के जलजले क्षेत्रको विकासमा सरोकारवालाहरूको हात, पर्यापर्यटन विकास र समृद्धिमा सबैको साथ” भन्ने नारासहित सोमबारदेखि सुरु भएको कार्यक्रम मङ्गलबारसम्म सञ्चालन हुने भएको छ । उद्घाटन कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विधुर कुमार लिङथेपले कोशी प्रदेशमा रहेका पर्यटकीय सम्भावनालाई थप स्तरोन्नति गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशका पर्यटकीय गन्तव्यहरूको संरक्षण, पूर्वाधार विकास तथा सडक सञ्जाल विस्तारमा प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले वसन्तपुर–गुफापोखरी–मिल्के हुँदै दोभानसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँहरूले उक्त सडकको विकासले तिनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने बताउनुभएको छ ।
यसै अवसरमा महासंघले तिनजुरे–मिल्के–वसन्तपुर क्षेत्र तथा गुफापोखरी लगायतका पर्यटकीय क्षेत्रहरूको संरक्षण, पूर्वाधार विकास र सडक विस्तारका लागि आवश्यक कदम चाल्न आग्रह गर्दै प्रमुख अतिथिलाई औपचारिक रूपमा ज्ञापनपत्र समेत बुझाएका थिए । कार्यक्रमलाई मनोरञ्जनात्मक र सहभागितामूलक बनाउन विभिन्न प्रतियोगिताहरू समेत आयोजना गरिएको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाका स्वकीय सचिव रोहन लिम्बूले जानकारी दिनुभयो ।
समन्वय समितिका चालकहरूबीच १०० मिटर दौड प्रतियोगिता, कर्मचारीहरूका लागि भाग्यशाली लट्री तथा जनप्रतिनिधिहरूबीच डोरी तानातान प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रमले नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै पर्यटन विकास र क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।






प्रतिक्रिया