ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा आज अन्तिम क्वाटरफाइनल खेल सञ्चालन हुने भएको छ । माघे सक्रान्तिको अवसरमा आयोजित गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाबीच प्रतिष्पर्धा हुने भएको हो ।
शनिबारको विजेताले सेमिफाइनलमा वि।सि।एस। मेमोरियल युवा क्लब सावादिन सँग भेट पक्का गर्ने छ । शुक्रबार भएको खेलमा नाम्थोक युवा क्लब पाँचथरलाई ५–४ गोल अन्तरले पाराजित गर्दै सावादिन सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो खेलमा ड्रिम बोइज एफ.सि. धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै धनकुटाले सेमिफाइनलमा आयोजक सिंवा स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ । विहीबार भएको उद्घाटन खेलमा आयोजकले जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद १ लाख ७५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ भने हरेक दिन म्यान अफ दि म्याच बन्नेलाई समेत नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
माघेमेला सञ्चालन समितिद्वारा माघ १ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल माघ ५ गने हुनेछ । क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो पालिकामा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा सिंवा बजारलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्य सहित मेलाको आयोजना गरिएको संरक्षक मचिन्द्र लिम्बूले बताउनुभयो ।
उहाँका अनुसार ऐतिहासिक मेलाको सुरुवात राणा कालदेखि नै भएको हो । विगतका वर्षमा सामान्य मेला महोत्सव मात्र हुने गरेको थियो । यस वर्षदेखि सदरमुकाम बाहिर हुने प्रतियोगिताहरुमध्येकै सर्वोत्कृष्ट पुरस्कार राशिको भएको गोल्डकपको रुपमा सुरुवात गरिएको आयोजकले जनाएको छ ।






प्रतिक्रिया