साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजना साथै करुणा फाउन्डेसनको सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेशको प्राविधिक सहयोगमा आज जिल्ला समन्वय समितिको सभाहलमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखीकरण कार्यक्रममा जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता न्यूनिकरण एवम् अपाङ्गता भएका व्यक्तिहरूसहितको समावेशी समाजको निर्माण गर्ने उद्देश्य सहित ताप्लेजुङका प्रत्येक स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी योजना प्रस्तुत गरिएको थियो ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालका अनुसार आगामी आर्थिक वर्षमा उक्त कार्यक्रम ताप्लेजुङका ९ वटै स्थानीय तहले प्रदेश सरकार र करुणा फाउन्डेसनको सहयोगमा सञ्चालन गर्नु पर्ने छ ।
हाल यो कार्यक्रम देशका १०७ स्थानीय तहहरूमा सञ्चालनमा रहेको उहाँले बताउनुभयो । जसमा प्रथम चरण २०७६/७७ मा मोरङ, सुनसरी, धनकुटा, पाँचथरका (२८ वटा स्थानीय तह)हरूमा सञ्चालन भएको थियो । दोस्रो चरण २०७७/७८ मा मोरङ, सुनसरी, भोजपुर, र सङ्खुवासभाका (३१ स्थानीय तह)मा सञ्चालन भएको थियो ।
यस्तै तेस्रो चरण २०८०/८१ मा सोलुखुम्बू, ओखलढुङ्गा, खोटाङ र उदयपुरका (३४ स्थानीय तह)हरूमा सञ्चालन भएको र चौथो चरण २०८१/८२ मा ताप्लेजुङ, तेह्रथुम र झापाका (३० स्थानीय तह)मा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
अपाङ्ग रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी ताप्लेजुङका सबै स्थानीय तहहरूले प्रतिवद्धता समेत जाहेर गरेका छन् । कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समन्वय समिति प्रमुख छिरिङ लामा, ९ वटै स्थानीय तहका प्रमुख, प्रतिनिधि र महिला तथा बालबालिका शाखा प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थित रहेको थियो ।
ताप्लेजुङ जिल्लमा राष्ट्रिय जनगणना २०७८ अनुसार अपाङ्गता भएका व्यक्तिहरूको संख्या जम्मा ३ हजार १४ जना रहेको छ । जसमा एक हजार ३९५ जना महिला र एक हजार ६१९ जना पुरुष रहेका छन् ।
प्रतिक्रिया