ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष युक हां विर हाङ्गाम डम्बरको प्रमूख आतिथ्यतामा आजबाट “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता सुरु भएको हो ।
पृथ्वी तथा लेस्नमाया स्मृति खेल मैदान, मेरिङदेन ३ खाम्लुङमा २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल (छात्र/छात्रा), दौड (छात्र/छात्रा), रिले (छात्र/छात्रा), हाइजम्प (छात्र/छात्रा), लङजम्प (छात्र/छात्रा), त्रिपलजम्प (छात्र/छात्रा), ज्याभलिङ थ्रो (छात्र/छात्रा), सटपुट (छात्र/छात्रा) खेलहरू समावेश गरिएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनु भएको छ ।
कार्यक्रमको विशिष्ट अतिथिको रुपमा निवर्तमान मेरिङदेन गाउँपालिका अध्यक्ष गणेश ब. श्रेङ चङवाङ, अतिथिहरूमा नि प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वर प्रसाद साह, सामाजिक विकास संयोजक एवं मेरिङदेन गाउँपालिका ३ नं. वडाध्यक्ष तेज कुमार चङवाङ, ४ नं. वडाध्यक्ष बेद प्रसाद हाङ्गाम र शिक्षा अधिकृत हरि बहादुर कुवरको उपस्थिति रहेको थियो ।
जिल्ला खेलकुद विकास समितिले हरेक पालिकालाई पुष मसान्त सम्म पालिका स्तरीय खेल सम्पन्न गर्न परिपत्र गरिसकेको छ । यसअघि नै जिल्लाको सिदिङबा गाउँपालिका, फुङलिङ नगरपालिकाले प्रतियोगिता सम्पन्न गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
पालिकाबाट छनोट भएका उत्कृष्ट विद्यार्थीलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता गराइने भएको छ । यस्तै आठराई त्रिवेणी गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार देखि सञ्चालन गरिरहेको छ ।
जिल्ला स्तरीय खेल भने आठराई त्रिवेणी गाउँपालिकामा सञ्चालन गर्ने तयारी भइरहको गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले बताउनु भएको छ ।
प्रतिक्रिया