ताप्लेजुङ । रेडहर्ष फुटबल क्लब इलाम फुङलिङमा जारी प्रथम ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा रेडस्टार फुटबल क्लब बिर्तामोड झापालाई ट्राईबेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै इलाम उपाधि नजिक पुगेको हो ।
निर्धारित समयावधिमा दुवै टीमले १–१ गोलको बराबरी खेलेसँगै खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको १५ औँ मिनेटमा इलामको आशिष राईले पहिलो गोल गर्नुभएको थियो ।
त्यस्तै ७५ औँ मिनेटमा झापाबाट खेल्नु भएका नाइजेरियन खेलाडी जोन ग्लोरीले गोल गरेसँगै खेल बराबरीमा फर्किएको हो । अब इलामले उपाधिका लागि भोलि जुट विकास फुटबल एकेडेमी सुनसरीसँग प्रतिष्पर्धा गर्नेछ । सुनसरीले हिजो सेमिफाइनलमा पथरी ११ फुटबल क्लब मोरङलाई ट्राइबेकरमै ५–४ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
गोल्ड कपको विजेताले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्दा उपविजेताले भने १ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनेछन् । दुवै टिमलाई ट्रफी, मेडल तथा प्रमाण–पत्रको समेत व्यवस्था गरिएको आयोजक लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङले जनाएको छ । जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी खेलमा ८ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया