ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङको फुङलिङमा मृत अवस्थामा फेला परेका सोमराज गुरुङको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार पक्राउ पर्नेमा सिरिजङ्घा गाउँपालिका–३ निवासी २६ वर्षीय प्रिती हाङ लिम्बू र सिदिङ्वा गाउँपालिका–७ घर भई हाल फुङलिङ नगरपालिका–४ मा बस्ने ३८ वर्षीया बिना सोदेन गुरुङ रहेका छन् ।
सिदिङ्वा गाउँपालिका–६ घर भई फुङलिङ नगरपालिका–४ मा डेरा गरी बस्दै आउनुभएका ५५ वर्षीय गुरुङ गत कात्तिक २४ गते राति करिब ११ बजे फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनस्थित डेराको कोठामा मृत अवस्थामा फेला पर्नुभएको थियो ।
पक्राउ परेका दुवै जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दामा किटानी जाहेरी परेको सूचना अधिकारी यादवले जानकारी दिनुभयो । उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया