ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४, साँवास्थित पर्यटकीय गन्तव्य फङफङदेन झरनामा सञ्चालित अलैँची कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि धरानको मरिक एफसीले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा ट्राइबेकरमा तेह्रथुमको फेदाप गाउँपालिकालाई ६–५ गोल अन्तरले पराजित गर्दै मरिक एपफसीले उपाधि हात पारेको हो ।
निर्धारित समयमा दुवै टिमबाट एक–एकको बराबरी गोल भए सँगै खेल ट्राइबेकरमा धकेलीएको थियो । मरिकले उपाधि सँगै तीन लाख दुई हजार ८३ रुपियाँ बराबरको अलैँची पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै तेह्रथुमको फेदाप गाउँपालिकाले एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन परेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मरिक एफसी धरानका मिलन लिम्बू हुनुभएको छ । उहाँलाई पाँच हजार रुपियाँ बराबरको अलैँची प्रदान गरिएको छ । यस्तै उत्कृष्ट गोलकिपर मरिककै विपुल मगर, उत्कृष्ट डिफेन्डर जङ्ग खड्का र सर्वाधिक गोलकर्ता मरिकका कृष्ण राई हुनुभएको छ । उहाँहरूलाई तिन हजार रुपियाँ बराबरको अलैँची प्रदान गरिएको छ ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाँचथरको कुम्मायक कुस्सायक स्पोर्टिङ क्लबलाई ३–२ गोलले पराजित गर्दै मरिक एफसीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । यस्तै शुक्रबार फेदाप गाउँपालिकाले पहिलो सेमिफाइनल खेलमा आयोजक फङफङदेन झरना पर्यटन विकास समितिलाई १–० गोलले पराजित पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
फङफङदेन झरना पर्यटन विकास समितिको आयोजनामा मङ्सिर २ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल आज भएको हो । ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीलाई खेलकुद र पर्यटनसँग जोड्दै यसको बजार विस्तार तथा पहिचान प्रवर्धन गर्ने र फङफङदेन झरनालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले मेला तजा प्रतियोगिताको आयोजना गरिएको फङफङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो ।






प्रतिक्रिया