ताप्लेजुङमा सुविधासम्पन्न आँखा शल्यक्रिया कक्ष



ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सुविधासम्पन्न आँखा शल्यक्रिया कक्ष निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानको सहयोगमा निर्माण गरिएको शल्यक्रिया कक्षको शनिबार वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले उद्‌घाटन गर्नुभएको हो ।

शल्यक्रिया कक्ष सञ्चालनमा आएसँगै ताप्लेजुङमै मोतियाबिन्दुलगायत आँखाका रोगको शल्यक्रिया सेवा विस्तार गर्ने बाटो खुलेको छ । केन्द्रलाई आधारभूत आँखा अस्पतालका रूपमा स्तरोन्नति गरी नियमित सेवा सञ्चालन गर्ने लक्ष्यसहित शल्यक्रिया कक्ष निर्माण गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङका वरिष्ठ नेत्र अधिकृत तथा क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डाक्टर रुइतले आर्थिक अभावका कारण जिल्लाका कुनै पनि नागरिक आँखा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गरिबीका कारण मोतियाबिन्दुको शल्यक्रिया गर्न नसक्ने अवस्थाको अन्त्य गरिने उहाँले बताउनुभयो ।

‘पैसाकै अभावका कारण मोतियाबिन्दुको शल्यक्रिया गर्न पाएनौँ भन्ने अवस्था आउन दिने छैनौँ, हामी आउन दिँदैनौँ,’ उहाँले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समेत उपचारको पहुँचमा ल्याउने उहाँको प्रतिबद्धता थियो ।

गत वर्ष डाक्टर रुइतकै उपस्थितिमा सञ्चालित आँखा शिविरको समापनका क्रममा नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङले शल्यक्रिया कक्षको आवश्यकता औँल्याएको थियो । त्यसबेला डाक्टर रुइतले डिचेन डोङ्गलामा शल्यक्रिया कक्ष निर्माण गरिदिने घोषणा गर्नुभएको थियो । सोही घोषणाअनुसार निर्माण सम्पन्न भएको कक्ष शनिबार उद्‌घाटन गरिएको हो ।

नेपाल नेत्र ज्योती संघद्धारा सञ्चालीत डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आवास कक्ष निर्माण भएपछि आधारभूत आँखा अस्पतालका रूपमा स्तरोन्नति गरी मासिक रूपमा शल्यक्रिया सेवा सञ्चालन गर्ने योजना रहेको संघका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो ।

यसैबीच, फुङलिङमा शनिबारदेखि सुरु चारदिने निःशुल्क आँखा शिविरको पहिलो दिन ३५३ जनाले आँखा परीक्षणका लागि नाम दर्ता गराएका छन् । तीमध्ये ६८ जनालाई मोतियाबिन्दुको शल्यक्रियाका लागि छनोट गरिएको केन्द्रका क्लिनिक इन्चार्ज गुरुङले जानकारी दिनुभयो । डाक्टर रुइत, उहाँका छोरा सागरसहित विदेशी चिकित्सक डाक्टर जेएफ र करिब २० जनाको टोलीले शिविरमा सेवा दिइरहेको संघका उपसभापती खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 5:55 pm

ताप्लेजुङमा सुविधासम्पन्न आँखा शल्यक्रिया कक्ष

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभराबारे तीन भाषामा पुस्तक प्रकाशन

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

डा. सन्दुक रुइतको उपस्थितिमा सञ्चालन हुने निःशुल्क आँखा शिविर आजबाट सुरु

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा.

ताप्लेजुङको फङफङदेन झरनामा जारी अलैँची कप : फेदाप फाइनलमा

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित फङफङदेन

दोभान–सान्थाक्रा सडक बन्द हुने

ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा दोभान बजारदेखि