ताप्लेजुङ, मङ्सिर ४ गते । ताप्लेजुङमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–७ निवासी १९ वर्षीय आशिष लिम्बू रहेका छन् । उनलाई फुङ्लिङ नगरपालिका–४ स्थित तोक्मेडाँडा बसपार्क क्षेत्रमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार विहीबार दिउँसो करिब २ बजे प्रहरी टोलीले उक्त क्षेत्रमा जाँच गर्ने क्रममा लिम्बूलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो । प्रहरीले खानतलासी गर्दा उनको साथबाट खैरो हेरोइनजस्तो देखिने एक ग्राम लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका लिम्बूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा २२ (ग) बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला अदालत ताप्लेजुङबाट १९ दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






प्रतिक्रिया