ताप्लेजुङ, मङसिर ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित फुङ्फुङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला–२०८३ मा सञ्चालित पुरुष फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएको छ । फुङ्फुङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा आगामी मङ्सिर २ देखि ६ गतेसम्म सञ्चालन हुने खेलमा विहिबार दुई खेल हुने भएको हो ।
त्यस्तै, आज दोस्रो क्वार्टरफाइनलमा फेदाप गाउँपालिका तेह्रथुम र सैनिक युवा क्लब झापाबीच खेल हुने आयोजक समितिका सल्लाहकार नुपुछिरिङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आज नै हुने तेस्रो क्वार्टरफाइनलमा कुमायक गाउँपालिका पाँचथर र खोक्लिङ सामाजिक युवा क्लब मिक्वाखोला–२ बीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै शुक्रबार हुने चौथो क्वार्टरफाइनलमा ग्रीन भ्याली युवा क्लब मेरिङदेन–६ नाल्बु र मारिक एफसी धरान भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल मङ्सिर ६ गते हुनेछ । बुधबार भएको उद्घाटन खेलमा आयोजक र अप्पर मेवा केटिएमबीच प्रतिस्पर्धा भएको थियो । खेलमा आयोजक फङफङदेन झरना पर्यटन विकास समिति र अप्पर मेवा हाइड्रोपावर काठमाडौंले १–१ गोलको बराबरी खेलेका छन् । समय अभावका कारण खेलको बाँकी दोस्रो हाफ बिहीबार बिहान सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसहित तीन लाख दुई हजार ८३ रुपियाँ बराबरको अलैँची प्राप्त गर्नेछन् । उपविजेता टोलीलाई एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
समितिका अध्यक्ष साँवाका अनुसार स्थानीय उत्पादनको प्रवर्धन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगदको सट्टा अलैँची पुरस्कार दिने व्यवस्था गरिएको हो । गत वर्ष पनि प्रतियोगितामा अलैँची नै पुरस्कारका रूपमा प्रदान गरिएको थियो । गत वर्ष पाँचथरको गणेश चोकले उपाधि हासिल गरेको थियो ।
फुङ्फुङ्देन झरनाको पर्यटन प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य मेलाले राखेको छ ।






प्रतिक्रिया