ताप्लेजुङ, मङ्सिर १ गते । ताप्लेजुङमा सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई कैद भुक्तान नगरी फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–१ निवासी जीवन चोलागाईं रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार चोलागाईंलाई कात्तिक २६ गते झापाको कनकाई नगरपालिका–१ बाट पक्राउ गरिएको हो ।
चोलागाईंलाई मङ्गलबार फैसला कार्यान्वयनका लागि ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराइएको छ । ताप्लेजुङ जिल्ला अदालतको २०७० फागुन २५ गतेको फैसलाअनुसार सवारी ज्यान मुद्दामा दोषी ठहर हुनुभएका चोलागाईंले एक वर्ष ११ महिना चार दिन कैद भुक्तान गर्न बाँकी रहेको सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।
प्रहरीले अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ ।






प्रतिक्रिया