ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको सुरक्षा तथा सहज यात्राका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको सहकार्यमा सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको उद्घाटन प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले गर्नुभएको हो ।
पर्वको समयमा जिल्लामा भित्रिने तथा बाहिरिने यात्रुलाई यातायात तथा सुरक्षासम्बन्धी समस्या परेमा तत्काल सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मान बहादुर माझीले बताउनुभयो । उहाँका अनुसार सहायता कक्षबाट यात्रुको सुरक्षा, सवारीसाधनको आवागमन तथा ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग उपलब्ध गराइने छ ।
सहायता कक्ष उद्घाटन कार्यक्रममा फुङलिङ नगरपालिका–४ का वडाध्यक्ष दुर्गा पालुङ्वा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल बजगाईं, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक (डिएसपी) धनबहादुर बोहोरा, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यलगायत यातायात व्यवसायीको उपस्थिति थियो ।
चाड पर्वका समयमा यात्रुको चाप बढ्ने र सवारीसाधनको आवागमनसमेत बढी हुने भएकाले यात्रु तथा चालकलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउन सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ । यात्रु तथा सवारीसाधनसम्बन्धी समस्या वा सुरक्षासम्बन्धी जानकारी आवश्यक परेमा सहायता कक्षमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।






प्रतिक्रिया