दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने



ताप्लेजुङ, असोज १४ गते । साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार आगामी शुक्रबारदेखि खुला हुने भएको छ। ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले चाडपर्वलाई लक्षित गर्दै करिब डेढ महिनाका लागि शुक्रबार पनि बजार तथा पसल खुला गर्ने निर्णय गरेको हो।

मङ्गलबार बसेको सङ्घको बैठकले असोज १६ गते शुक्रबारदेखि कात्तिक २७ गते शुक्रबारसम्म फुङलिङ बजारका पसल खुला गर्ने निर्णय गरेको सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो।

उहाँका अनुसार मङ्सिर ४ गते शुक्रबारदेखि भने बजार पुनः साविककै नियमअनुसार बन्द हुनेछ। नजिकिँदै गरेका नेपालीका प्रमुख चाड दसैँ, तिहार, नेपाल संवत् तथा छठका अवसरमा उपभोक्तालाई किनमेलमा सहज होस् भन्ने उद्देश्यले शुक्रबार पनि बजार खुला गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष विकास गौतमले बताउनुभयो।

वि.सं २०६० देखि सङ्घले १५–१५ दिनमा बजार बन्द गर्दै आएको थियो। २०६५ सालदेखि भने साप्ताहिक रूपमा बजार बन्द गर्न थालिएको हो। व्यवसायीलाई सामाजिक उत्तरदायित्वमा सहभागी गराउने तथा व्यवसायीले राखेका कर्मचारीलाई सातामा एक दिन बिदा दिने लगायतका उद्देश्यले सङ्घले सातामा एक दिन फुङलिङ बजार बन्द गर्दै आएको जनाएको छ।

यसैबीच, सङ्घले चाडपर्वको समयमा उपभोक्ताको चापलाई ध्यानमा राख्दै बिक्री मूल्यमा एकरूपता कायम गर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा म्याद गुज्रिएका सामग्री बिक्री–वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ।

सङ्घले चाडपर्वका समयमा कानुनले बन्देज गरेका सामग्री आतसबाजी, भुइँचम्पा, पटाका लगायतको बिक्री–वितरण नगर्नसमेत व्यवसायीलाई आग्रह गरेको जनाएको छ।

प्रकाशित मिति : 5:03 pm

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई

दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने

ताप्लेजुङ, असोज १४ गते । साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार