ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको करिब ४८ वर्षपछि पहिलो पटक चिनी बिक्री सुरु गर्ने भएको छ । यसअघि चामल मात्र बिक्री गर्दै आएको शाखाले बुधबारदेखि चिनीसमेत बिक्री गर्न लागेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका कार्यालय प्रमुख प्रकाश तिम्सिनाका अनुसार पहिलो चरणमा १८ हजार किलोग्राम चिनी ताप्लेजुङ ल्याइएको छ । मंगलबार ३६० बोरा चिनी शाखा कार्यालयमा आइपुगेको उहाँले जानकारी दिनुभयो । कार्यालय समयदेखि नै बिक्री वितरण गर्ने गरी आवश्यक तयारी पूरा भएको शाखाले जनाएको छ ।
उपभोक्ताले शाखाबाट प्रतिकिलोग्राम ११० रुपियाँका दरले चिनी खरिद गर्न पाउनेछन् । एक व्यक्ति वा परिवारले बढीमा छ किलोग्रामसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ । शाखाले चिनी व्यक्तिगत उपभोगका लागि मात्र बिक्री गरिने जनाएको छ ।
खाद्य शाखाबाट खरिद गरिएको चिनी व्यावसायिक प्रयोजनका लागि पुनः बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने कार्यालयले जनाएको छ ।
चाडपर्वलाई लक्षित गरी चामलसँगै चिनी, दाल, तेललगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने योजना बनाइए पनि हाल चिनीको बिक्री प्रक्रिया मात्र सुरु गर्न सकिएको शाखा प्रमुख तिम्सिनाले बताउनुभयो । अन्य वस्तुको बिक्रीसमेत सुरु गर्न पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
वि.सं. २०३५ सालमा ताप्लेजुङमा स्थापना भएको खाद्य शाखाले हालसम्म चामल मात्र बिक्री गर्दै आएको थियो । चिनी बिक्री सुरु भएसँगै जिल्लाका उपभोक्ताले सहुलियत मूल्यमा थप खाद्य सामग्री खरिद गर्न पाउने भएका छन् ।






प्रतिक्रिया