ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा पठाउन थालिएको छ। कर्मचारी मिलन केन्द्र ताप्लेजुङले सोमबार विभिन्न जिल्लामा रहेका कर्मचारी मिलन केन्द्रलाई हुलाकमार्फत टीका प्रसाद पठाएको हो।
कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार पाथीभरा मन्दिरको दर्शनका लागि निम्ता दिनुका साथै पाथीभराको धार्मिक महत्त्व र प्रचारप्रसार गर्ने उद्देश्यले देशभरका कर्मचारी मिलन केन्द्रमा टीका प्रसाद पठाइएको हो।
टीका प्रसाद प्रेषणको जिम्मेवारी पाएको जिल्ला हुलाक कार्यालय ताप्लेजुङले सुरक्षित रूपमा सम्बन्धित निकाय तथा व्यक्तिसम्म पुर्याउने जनाएको छ। कार्यालय प्रमुख हेमराज पाण्डेले प्राप्त जिम्मेवारीअनुसार प्रसाद सम्बन्धित स्थानमा पुर्याउने व्यवस्था गरिएको बताउनुभयो।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले मन्दिरको टीका प्रसाद समितिले निःशुल्क उपलब्ध गराउने बताउनुभयो। उहाँका अनुसार नोट, ढक्की र माना–पाथी लगायतका सामग्री भने समितिले निर्धारण गरेको शुल्कमा उपलब्ध गराइनेछ।
यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङले पनि देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयमा पाथीभरा मन्दिरको टीका प्रसाद पठाउने तयारी गरेको छ। कोष नियन्त्रक यामनाथ गिरीका अनुसार केही दिनभित्र हुलाकमार्फत प्रसाद पठाइनेछ।
गत साउन २१ गते ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले पहिलो सेवाग्राहीका रूपमा हुलाकमार्फत पाथीभराको टीका प्रसाद धनुषा पठाउनुभएको थियो।






प्रतिक्रिया