ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान बजारका अग्निपीडितलाई तत्काल राहत तथा अस्थायी बासस्थानको व्यवस्था गर्न सरकारसमक्ष माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मिङमाग्याबु शेर्पा (मिङमा डेभिड) नेतृत्वको टोलीले शुक्रबार कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी अग्निपीडितका लागि तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न माग गरेको हो ।
भेटका क्रममा तमोर नदी र मैवा खोलाको किनारमा रहेको दोभान बजार पटक–पटक आगलागीको जोखिममा पर्दै आएको जानकारी गराउँदै दीर्घकालीन सुरक्षाका लागि समेत आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको रास्वपा नेता मिङमा डण्डु शेर्पाले बताउनुभयो ।
आगलागीबाट विस्थापित परिवारको तत्कालको आवश्यकता पूरा गर्न राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न माग गरिएको उहाँले जानकारी दिनुभयो ।
टोलीमा सांसद शेर्पासहित रास्वपा नेता मिङमाडण्डु शेर्पा, जिल्ला सचिव लीलाराज पौडेल, निवर्तमान जिल्ला सभापति इन्जिनियर वीरेन्द्र श्रेष्ठ र गोपाल गुरुङलगायत सहभागी हुनुहुन्थ्यो ।
बिहीबार दिउँसो करिब १ः४० बजे सुरु भएको आगलागीमा घरधनी आठ र भाडामा बस्ने नौ गरी १७ परिवार प्रभावित भएका छन्। १० वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। घर तथा पसल संरचनासहित होटल, गोदाममा राखिएको अलैँची, नगदलगायतका सामग्री जलेर नष्ट हुँदा १४ करोड ५६ लाख रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो।
प्रहरीले आगलागी विद्युत् सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। दोभान बजारमा यसअघि २०७७ फागुन १८ गते भएको आगलागीमा ४९ घर जलेर नष्ट हुँदा करिब ४० करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो।






प्रतिक्रिया