ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि ताप्लेजुङमा केन्द्रीय प्रतिनिधिका रूपमा प्रतापप्रकाश हाङ्गामलाई खटाएको छ।
आगामी मङ्सिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनका लागि देउवा समूहले देशभरका विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो। महाधिवेशन तयारीका लागि गठित समितिले जिल्लामा प्रतिनिधि परिचालनसँगै अधिवेशनका गतिविधिलाई अघि बढाएको जनाएको छ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले सात प्रदेशका ५५ जिल्लाका लागि संयोजकसमेत तोकिसक्नुभएको छ। समितिले महाधिवेशनअन्तर्गतका प्रारम्भिक संगठनात्मक गतिविधिको कार्यतालिका अघि बढाएको हो।
तयारी समितिका अनुसार कांग्रेसको वडा अधिवेशन आगामी असोज १५ गते हुनेछ। वडा अधिवेशनपछि क्रमशः पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनतर्फ अघि बढ्ने तयारी छ।
ताप्लेजुङमा केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका हाङ्गामले महाधिवेशनका लागि जिल्लास्तरमा आवश्यक समन्वय तथा संगठनात्मक गतिविधिमा सहजीकरण गर्ने बताइएको छ। महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा वडा अधिवेशनको तयारीसमेत अघि बढाइएको कांग्रेसले जनाएको छ।






प्रतिक्रिया