ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान बजारका अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ। बिहीबार भएको आगलागीबाट प्रभावित १७ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी र श्री सत्यसाई सेवा सङ्गठन नेपाललगायतका सङ्घसंस्थाले नगद तथा जिन्सी सामग्री उपलब्ध गराएका हुन्।
जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालको उपस्थितिमा शुक्रबार राहत वितरण गरिएको हो। समितिले आगलागीबाट प्रभावित प्रत्येक परिवारलाई २० हजार रुपियाँका दरले नगद तथा कम्बल, स्लिपिङ ब्यागलगायतका सामग्री उपलब्ध गराएको छ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले पनि १७ परिवारलाई ३० किलोग्राम चामल, पाँच किलोग्राम आलु, तीन किलोग्राम दाल, दुई किलोग्राम चिनी तथा मसलालगायत खाद्य सामग्री र दुई हजार ५०० रुपियाँका दरले नगद सहयोग गरेको सङ्घका अध्यक्ष विकास गौतमले जानकारी दिनुभयो।
श्री सत्यसाई सेवा सङ्गठन नेपालले प्रत्येक परिवारलाई ग्यास चुल्हो सेट, प्रेसरकुकर, थाल–बटुका, म्याट्रेस र कम्बल वितरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले आगलागी भएकै दिन साँझ कम्बल, लत्ताकपडा र भाँडावर्तनलगायत आपतकालीन सामग्री उपलब्ध गराएको थियो। यता मेरिङदेन गाउँपालिकाले पनि आगलागी प्रभावित परिवारलाई प्रारम्भिक राहत सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम (डम्बर) ले जानकरि दिनुभयो ।
बिहीबार दिउँसो करिब १ः४० बजे सुरु भएको आगलागीमा घरधनी आठ र भाडामा बस्ने नौ गरी १७ परिवार प्रभावित भएका छन्। १० वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। घर तथा पसल संरचनासहित होटल, गोदाममा राखिएको अलैँची, नगदलगायतका सामग्री जलेर नष्ट हुँदा १४ करोड ५६ लाख रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो।
प्रहरीले आगलागी विद्युत् सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। दोभान बजारमा यसअघि २०७७ फागुन १८ गते भएको आगलागीमा ४९ घर जलेर नष्ट हुँदा करिब ४० करोड रुपियाँभन्दा बढीको क्षति भएको थियो।






प्रतिक्रिया