ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो भएको भीषण आगलागीमा आमा छोरा घाइते भएका छन् । मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा भएको आगलागीमा लाक्पाचुङ शेर्पा (डण्डु) की श्रीमती ४८ वर्षीया दिकी शेर्पा र छोरा २५ वर्षीय फुर्साङ शेर्पा घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी विन्देश्वर यादवका अनुसार उहाँहरु आमा छोरा हुनुहुन्छ । घाइते आमा छोराको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । अचानक घरमा आगलागी हुँदा भाग्ने क्रममा उहाँहरु घाइते हुनुभएको बताइएको छ । शेर्पाको घरबाट दिउँसो करिब १ः४० बजेतिर अचानक आगलागी सुरु भएको थियो ।
शेर्पाको घरबाट सुरु भएको आगोले १० वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट शेर्पा र स्थानीय भीम लङ्वा लिम्बूको दुई–दुईवटा घर जलेर नष्ट भएको छ । उहाँहरुबाहेक चन्द्रप्रसाद पौडेल, यामबहादुर आङ्बुहाङ, घनश्याम खरेल, राजु शेर्पा, सुकबिर लिम्बू र राजेन्द पौडेलको एक–एकवटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट घर धनीसमेत १५ परिवार विस्थापित हुनुभएको छ । कोठा भाडामा बस्ने अनिसा विक, सुनम लिम्बू, लाक्पा शेर्पा, श्याम चोङ्वाङ, आरती लिम्बू, काशीनाथ चुडाल, विनु लिम्बू, मोहन लिम्बू र खम्बासिंह लिम्बूको परिवार विस्थापित हुनुभएको छ । सबै परिवारका गरी ५८ जना विस्थापित हुनुभएको छ ।
आगलागीका कारण विस्थापित हुने ३० जना पुरुष र २८ महिला रहनुभएको ताप्लेजुङका प्रहरी प्रमुख कमल बजगाइँले जानकारी दिनुभयो । यता आगलागीबाट ध्वस्त भएका घरहरुमा पसल व्यवसाय सञ्चालनमा रहेकाले ठुलो मूल्य बराबरको धनमाल जलेर नष्ट अनुमान गरिएको छ ।
आगो नियन्त्रणमा आइसक्दा समय बितिसकेको र निरन्तरको वर्षाका कारण क्षतिको विवरण सङ्कलन गर्नमा ढिलाइ भएको प्रनाउ बजगाइँले बताउनुभयो । उहाँका अनुसार आगो नियन्त्रणपछि भने जलेर नष्ट भएको सामग्री तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु भएको छ । क्षतिको पूर्ण विवरण शुक्रबार सम्मा आउने उहाँले जानकारी दिनुभयो ।
यता अग्निपीडितलाई तत्कालीन राहतस्वरुप नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र ताप्लेजुङ उद्योग बाणिज्य सङ्घले बिहीबार साँझ खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री वितरण गरेको जनाइएको छ । आगलागीपछि अग्निपीडितहरु आफन्त, इष्टमित्र र छरछिमेकीको आश्रय लिएर बस्नुभएको पनि प्रहरीले जानकारी दिएको छ ।






प्रतिक्रिया