ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको छाना भएका घरलाई जस्तापाताले विस्थापन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३-०८४ मा सञ्चालन गर्ने नागरिक आवास सुधार कार्यक्रमअन्तर्गत फुस वा खरको छाना हटाएर जस्तापाता लगाउन आवेदन माग गरेको हो ।
गाउँपालिकाले असोज २ गते सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दर्ता गराउन आग्रह गरेको छ । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र फुस वा खरको छाना भएको घरमा बसोबास गरिरहेका लक्षित परिवारलाई समेटिने जनाइएको छ ।
कार्यक्रमका लागि गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ । साथै हाल फुस वा खरको छाना भएको घरमा बसोबास गरिरहेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । परिवारको आर्थिक अवस्था अति विपन्न भएका, दलित, सीमान्तकृत, एकल महिला तथा अपाङ्गता भएका व्यक्ति वा परिवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
यसअघि फुसको छाना हटाउने कार्यक्रममा लाभ नलिएका परिवारलाई मात्र कार्यक्रममा समावेश गरिनेछ । आवेदनसँगै निवेदन वा आवेदन फाराम, घरमुलीको नागरिकताको प्रतिलिपि, घर रहेको जग्गाको लालपुर्जा वा स्वामित्व खुल्ने वडाको प्रमाणित सिफारिस, फुस वा खरको छाना देखिने घरको तस्बिर र परिवारका सदस्यको विवरण पेस गर्नुपर्नेछ ।






प्रतिक्रिया