ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार छात्रवृत्ति प्रदान गर्न लागेको जनाएको छ। विज्ञान विषय अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको हो।
शाखाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीले २०८३ असोज १३ गतेभित्र गाउँपालिकाको कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।
छात्रवृत्तिका लागि विद्यार्थीको निवेदन, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, बैंक खाता वा चेकको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र र अध्ययनरत शैक्षिक संस्थाको पत्र पेश गर्नुपर्नेछ।
गाउँपालिका अध्यक्ष केशर मेन्याङवोले सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी विज्ञान विषय अध्ययन गरिरहेका स्थानीय विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति कार्यक्रम ल्याइएको बताउनुभयो। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विज्ञान विषय अध्ययन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी सूचना आफ्नो वेबसाइट तथा फेसबुक पेजमार्फत समेत सार्वजनिक गरेको छ। सम्बन्धित विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ।






प्रतिक्रिया