ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको निःशुल्क दन्त शिविरबाट दुई सय ५६ जना नागरिक लाभान्वित भएका छन् । डा. शशाङ्क ताम्राकारको नेतृत्वमा सञ्चालन भएको निःशुल्क शिविरमा ताप्लेजुङ, पाँचथर र तेह्रथुमका गरि तीन जिल्लाका नागरिक लाभान्वित भएका हुन् ।
स्थानीय खगेन्द्र पोमु लिम्बूकी स्वर्गीय पत्नी सुन्दरी तुम्बाहाङ्फे पोमुको स्मृतिमा उहाँकी जेठी छोरी कविता (नुमा) पोमु लिम्बूको आयोजना तथा व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा आठराई त्रिवेणी गाउँपालिकाको निगुरादिन, फुलबारी, हाङपाङ, पाँचथरको आङबुङ, माझगाउँ तेह्रथुमको ह्वाकुका नागरिकले सेवा लिएको स्थानीय नवीन पोमु लिम्बूले जानकारी दिनुभयो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा केही दिन अघि मात्रै निःशुल्क दन्त शिविर सम्पन्न गर्नु भएका डा. ताम्राकारले पुन आठराई त्रिवेणी गाउँपालिकाबाट नयाँ अभियान सुरु गर्नू भएको हो । ग्रामीण भेगदेखि सुविधासम्पन्न अस्पतालसम्म पुगेर उपचार गराउन नसक्ने नागरिकको सेवाका लागि आयोजना गरिएको निःशुल्क शिविर आठराई त्रिवेणी गाउँपालिकाबाट सुरु गर्नुभएको शिविर क्रमश ताप्लेजुङको अन्य क्षेत्रमा समेत सञ्चालन हुँदै छ ।

शिविरमा डा. ताम्राकार, डा. अविनाश कुमार यादव, डा. सुजित कुमार साह र डा. अनिश कार्की सहित १० जना स्वास्थ्यकर्मीको टोलीले दन्त रोगीहरूको परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो । शिविरलाई सफल बनाउन पालिकाका स्वास्थ्य शाखा प्रमुख समीर प्रधान, जनस्वास्थ्य अधिकृत सुनिता तामाङ, निघुरादिन स्वास्थ्य चौकी इन्चार्ज मनु खुदाङ लगायत स्थानीय स्वास्थ्यकर्मीहरूले सहजीकरण गर्नुभएको थियो ।
आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु, उपाध्यक्ष शान्ता आङ्बुहाङ र प्रमुख चिकित्सक डा. ताम्राकारले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो । आफ्ना पालिकाका नागरिकको सेवाका लागि आउनु भएका डा। ताम्राकारको टोलीलाई अध्यक्ष पोमु, उपाध्यक्ष आङबुहाङ लगायतको स्वागत तथा सम्मान समेत गर्न भएको थियो ।
शिविरको दोश्रो दिन आइतबार मिक्वाखोला गाउँपालिका पुगेर सेवा प्रवाह गर्ने तयारी भइरहेको बताइएको छ । मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र फुङ्फुङगे झरना आसपासका बस्तीमा सेवा प्रदान गर्ने तयारी छ । त्यसपछि पापुङ, तोक्पेगोला लोदेन लगायतको क्षेत्रमा सेवा प्रवाह गर्ने तालिका समेत तय भएको छ ।






प्रतिक्रिया