ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मध्य मेवा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । मेवा डेभलपर्स लिमिटेडले निर्माण गरिरहेको दैनिक ६ घण्टा पिकिङ अवधारणामा सञ्चालन हुने उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।
हालसम्म आयोजनाले ९२.३ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको आयोजनाका वरिष्ठ व्यवस्थापक सुनिल रेग्मीले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्युतगृहको परीक्षण आगामी पुषमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको हो।
व्यावसायिक विद्युत उत्पादनका लागि आवश्यक अधिकांश सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइनसम्बन्धी प्रमुख कार्य सम्पन्न भइसकेका छन्। मुख्य बाँध, इन्टेक, स्पिलवे, हेडपोन्ड, स्टिलिङ बेसिन, डिस्यान्डरलगायत संरचनाको अधिकांश कंक्रिट कार्य सकिएको छ भने करिब ५.८ किलोमिटर लामो हेडरेस सुरुङको उत्खनन पूर्ण रूपमा सम्पन्न भएको रेग्मीको भनाई छ ।
यस्तै हाइड्रोमेकानिकलतर्फ अधिकांश गेट आयोजनास्थलमा पुगेर जडानको चरणमा छन् भने पेनस्टक पाइप जडान पूरा भएको छ । टर्बाइन, जेनेरेटर तथा अन्य प्रमुख विद्युत उपकरणको जडान सम्पन्न भई परीक्षणका लागि तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ । त्यस्तै, १३२ केभी प्रसारण लाइनका सबै टावर निर्माण सकिएको र केही स्थानमा तार तान्ने काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाबाट वार्षिक ४२६.०८ गिगावाट आवर विद्युत उत्पादन हुने छ । यसमध्ये सुख्खायामको पिक समयमा ७५.०२ गिगावाट आवर, अफ–पिक समयमा ६१.५९ गिगावाट आवर तथा वर्षायाममा २९९.४६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको ढुङ्गेसाँघु सबस्टेसनमा जोडिनेछ । प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता भइसकेको कम्पनीले जनाएको ।
मेवा डेभलपर्स लिमिटेडका अध्यक्ष मोहनदास मानन्धरले आयोजना निर्माण सम्पन्नतर्फ उन्मुख हुनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै सञ्चालनपछि राष्ट्रिय प्रसारण प्रणालीमा स्वच्छ तथा नवीकरणीय ऊर्जा थपिने र उच्च मागको समयमा ऊर्जा सुरक्षामा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।






प्रतिक्रिया