ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम हिमाली बस्ती याङ्मामा फोरजीसहितको नेपाल टेलिकम सेवा विस्तारका लागि आवश्यक पहल सुरु गरेको छ । गाउँपालिकाले सञ्चार पहुँचबाट वञ्चित रहेका नागरिकलाई आधुनिक सूचना तथा सञ्चार सेवासँग जोड्ने लक्ष्यका साथ टेलिकम टावर स्थापना प्रक्रिया अघि बढाएको हो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार गाउँपालिकाको २०औँ गाउँसभाबाट पारित नीति तथा कार्यक्रम कार्यान्वयनअन्तर्गत याङ्मामा फोरजी सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ । यसका लागि नेपाल टेलिकमसँग आवश्यक समन्वय र पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष लिम्बूका अनुसार गाउँपालिकाको सक्रियतामा यसअघि पाथीभरा, लिङखिम, मुरिङला डाँडा, लोवा डाँडा, घुन्सा गाउँ तथा ओलाङचुङगोलामा फोरजी टावर जडान भई सेवा सञ्चालनमा आइसकेको छ । अब याङ्मामा पनि सञ्चार सेवा विस्तार भएपछि फक्ताङलुङ गाउँपालिकाका सबै प्रमुख बस्ती मोबाइल तथा इन्टरनेट सेवाको पहुँचमा आउने विश्वास गाउँपालिकाले लिएको छ ।
वडा नं। ७ अन्तर्गत पर्ने याङ्मा समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको उच्च हिमाली बस्ती हो । सदरमुकाम फुङ्लिङबाट एक दिन सवारी यात्रा र त्यसपछि दुई दिन पैदल हिँडेर मात्र पुग्न सकिने यस गाउँमा सञ्चार सेवा नहुँदा स्थानीयले वर्षौंदेखि कठिनाइ भोग्दै आएका छन् । हिउँदमा अत्यधिक हिमपातका कारण गाउँ अझ बढी एकान्त बन्ने गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सूचना तथा सञ्चार प्रविधिको पहुँचबाट कुनै पनि नागरिक वञ्चित नहुने गरी समावेशी डिजिटल पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ । साथै नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै सबै बस्तीमा गुणस्तरीय मोबाइल तथा उच्चगतिको इन्टरनेट सेवा विस्तार गर्न आवश्यक पहलकदमी जारी राखिने गाउँपालिकाले जनाएको छ ।






प्रतिक्रिया