ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती प्रवर्द्धन गर्ने उद्देश्यले निःशुल्क कफीका बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै इच्छुक कृषकलाई कृषि विकास शाखामा निवेदन पेश गर्न आग्रह गरेको हो ।
गाउँपालिकाका अनुसार हुमन प्राक्ट्रीस फाउण्डेशन ९एचपिएफ० र कृषि अभ्यास नेपालको आयोजना तथा गाउँपालिकाको सहकार्यमा कफी खेतीको सम्भाव्यता अध्ययन प्रतिवेदन–२०७९ का आधारमा उपयुक्त क्षेत्रका कृषकलाई बिरुवा उपलब्ध गराइनेछ। यो कार्यक्रम वडा नं. १ देखि ६ सम्मका तोकिएका क्षेत्रका कृषकलाई लक्षित गरिएको छ ।
सूचनाअनुसार कफीका बिरुवा साउन १४ गते बिहान ११ बजे गाउँपालिकाको कार्यालयबाट वितरण गरिनेछ । वडा नं. १ को तोवे र हातिछावा क्षेत्र, वडा नं. २ को माडिम र भट्याङ, वडा नं. ४ को भिरालो क्षेत्र, वडा नं. ५ को तुम्लोक तथा छोटेखर फुङफुङ र वडा नं. ६ को साम्मुङ र साङ्डुपु क्षेत्रका कृषकले यस कार्यक्रमबाट लाभ लिन सक्नेछन् ।
गाउँपालिकाले कफी खेतीको विस्तार, कृषकको आयआर्जन वृद्धि तथा व्यावसायिक कृषि प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।






प्रतिक्रिया