ताप्लेजुङ, वैशाख ३१ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सोमबार सार्वजनिक नतिजाअनुसार गाउँपालिकाबाट परीक्षामा सहभागी भएका कुल १ सय २० विद्यार्थीमध्ये ८९ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ७४.१६ प्रतिशत हो ।
पालिकागत नतिजा हेर्दा आठराई त्रिवेणी पहिलो स्थानमा रहेको छ भने मौवाखोला गाउँपालिका दोस्रो स्थानमा परेको छ । मौवाखोलामा ४५ विद्यार्थीमध्ये ३३ जना अर्थात ७३.३३ प्रतिशत उत्तीर्ण भएका छन् ।
त्यसैगरी मेरिङ्देन गाउँपालिका मा १ सय ३५ विद्यार्थीमध्ये ८२ जना उत्तीर्ण भई ६०.७४ प्रतिशत नतिजा आएको छ । जिल्लाको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिका मा ४ सय ६२ सहभागीमध्ये २ सय ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन्, जुन ५८.८७ प्रतिशत हो ।
यस्तै पाथीभरा याङ्वरक गाउँपालिका मा ४४.९३ प्रतिशत, सिरिजङ्घा गाउँपालिका मा ३७.७४ प्रतिशत र मिक्वाखोला गाउँपालिका मा ३५.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी सिदिङ्वा गाउँपालिका मा २९.९१ प्रतिशत तथा फक्ताङ्लुङ गाउँपालिका मा २५.६९ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यससँगै फक्ताङ्लुङ गाउँपालिका जिल्लामै सबैभन्दा कमजोर नतिजा ल्याउने पालिका बनेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार यस वर्ष जिल्लाभर साधारण तथा प्राविधिक धारतर्फ गरी १ हजार ४ सय ८ विद्यार्थी एसईईमा सहभागी भएका थिए । तीमध्ये ७ सय ६ जना अर्थात ५०.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिकाभित्रका विद्यालयमध्ये गुप्तेश्वर माध्यमिक विद्यालय चोकपुरबाट सहभागी १० जनामध्ये ९ जना उत्तीर्ण भएका छन् । दुर्गा माध्यमिक विद्यालय फुलबारीबाट ३० मध्ये २५ जना र सरस्वती नमुना माध्यमिक विद्यालय हाङपाङबाट ३० मध्ये २३ जना विद्यार्थी सफल भएका छन् ।
त्यस्तै परमसिंह माध्यमिक विद्यालय निघुरादिनबाट १९ मध्ये १३ जना, चाँगे माध्यमिक विद्यालयबाट २० मध्ये ११ जना, सरस्वती माध्यमिक विद्यालय रमितेबाट ६ मध्ये ४ जना तथा छातेढुंगा माध्यमिक विद्यालय चाँगेबाट सहभागी ५ मध्ये ४ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ ।






प्रतिक्रिया