सौगात विष्ट
ताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका भित्रका उच्च शिक्षा र प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने भएको छ । फाक्ताङलुङ गाउँपालिकामा स्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरूलाई पालिकाले छात्रवृति प्रदान गर्ने भएको हो ।
जिल्ला भित्रका जुनसुकै सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गर्न पाउने गरि शैक्षिक छात्रवृतिको ब्यवस्था गरिएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त छात्रवृति आर्थिक वर्ष २०८२/८३ को शिक्षा क्षेत्रको स्वीकृत नीति तथा कार्यक्रम अन्र्तगत प्रदान गरिने भएको हो ।
विहीबार जिल्लास्थित पाथिभरा क्याम्पसका विद्यार्थीहरू सँगको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष लिम्बुले उच्च शिक्षा आर्जन गर्ने विद्यार्थीलाई निशुल्क र एसईई उत्रिर्ण गरि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको लागी ५० प्रतिशत छात्रवृति प्रदान गरिने बताउनुभयो । शिक्षामा लगानी गरेमा मात्र देशको विकासले गति लिने उहाँको भनाई थियो ।
यस्तै आगामी दिनहरूमा समेत यसलाई निरन्तरता दिने अध्यक्ष लिम्बुको भनाई छ । पालिकाले यस अघिनै सूचना जारी गर्दै छात्रवृतिको लागी आवेदन दिन अनुरोध गरेको छ ।






प्रतिक्रिया